शनिबार, साउन १२, २०८१

भक्तपुरमा भ्रमण वर्षको तयारीः सम्पदा पदयात्रा, नौका विहारदेखि महोत्सवसम्म

भक्तपुर- नेपाल भ्रमण वर्ष २०२० मा भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा, नौकाविहारदेखि भक्तपुर महोत्सव २०७६ को समेत आयोजना गर्ने भएको छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० मा नगरपालिकाले गर्ने विभिन्न कार्यक्रमका बारेमा जानकारी दिएका हुन् ।

नेपाल भ्रमण वर्ष सफल पार्न पुस १५ गते सन्ध्याकालीन पदयात्रा र पुस १६ गते प्रभातफेरि कार्यक्रम आयोजना गर्ने, नयाँ वर्ष जनवरी १ का दिन नगर प्रवेश गर्ने पहिलो पर्यटक टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमण वर्ष २०७६ शुभारम्भमा पुस १५ गते मङ्गलबार सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा गर्ने, भक्तपुर दरबार क्षेत्रको मूलढोकामा बाँसुरीबाजा र लाखे प्याखं प्रदर्शन गर्ने, ३२९ वर्ष पुरानो ऐतिहासिक नगरा र ठूलो घण्टा बजाउने, साँस्कृतिक झाँकी माक प्याखं प्रदर्शन गरिने भएको छ ।

त्यसैगरी भक्तपुर दरबार क्षेत्रमा दीपावली गर्ने र साँझ ५ बजेदेखि सांस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा शुरु गर्दै माटोको भाँडा बनाउने तालाक्व क्षेत्र, टौमढीमा भैल प्याखं प्रदर्शन र दिपावली गर्ने, नौबाजा बजाउने, दत्तात्रयमा देवी प्याखं प्रदर्शन गर्ने, वाकुपति नारायण हुँदै सूर्यमढीमा साँस्कृतिक झाँकी, बाँसुरी बाजा र लाखे प्याखं प्रदर्शन गरिनेछ ।

सन् २०२० को पहिलो दिन जनवरी १ दत्तात्रयबाट बाँसुरीबाजा र लाखे प्याखंसहित प्रभातफेरि शुरु गर्ने, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, बंशगोपाल, भार्वाचो, नःपुखु, ईताछें, खौमा र दरबार क्षेत्र पुगेर भक्तपुर नगर प्रवेश गर्ने पर्यटकको पहिलो समूहलाई निःशुल्क पास प्रदान गर्दै नगरा बाजा बजाएर स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सांस्कृतिक झाँकी माक प्याखं, देवी प्याखंको प्रदर्शन गर्ने र तःपुखु (सिद्ध पोखरी) र नःपुखु (गुह्य पोखरी) मा नेपाल भ्रमण वर्षको अवसरमा नौका बिहार सञ्चालन गर्ने भएको छ । नगरपालिकाले ख्वप अस्पताल, छाती पुनःस्थापना केन्द्र स्थापना गरेको, पर्यटकलाई सामान किन्न सहज गराउन कोसेली घर निर्माणको लागि नक्शा डिजाइन गरेको, नगरको मुख्य मुख्य क्षेत्रमा गाडी निषेध गरी ढुङ्गा छपाइ गरेको, सांस्कृतिक नगरको मौलिक संस्कृतिलाई जीवन्तता प्रदान गर्नेलगायत सांस्कृतिक गुरुको सम्मान र नयाँ पुस्तालाई सांस्कृतिक सीप हस्तान्तरण गर्न प्रशिक्षणहरुको आयोजना गरिरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनममा नगरपालिकाको उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले आगामी चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव आयोजना गर्ने, हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका बिहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेवारी पम्परागत जीवनशैली प्रदर्शनी, कृषि उत्पादन प्रदर्शनी, माटाका भाँडा बनाउने सीप प्रदर्शनी, परम्परागत वाध्यबादन प्रतियोगितालगायतका कार्यक्रम गर्ने भएको जानकारी दिइन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७