शनिबार, साउन १२, २०८१

आठपहरिया महिला गोल्डकप : उदयपुरलाई हराउँदै पुलिस सेमिफाइनलमा

पुस १४, २०७६ इलाम : विभागीय टिम नेपाल पुलिस क्लब धनकुटामा जारी रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न तेश्रो क्वाटरफाइनल खेलमा बसाहा राइजिङ युथ क्लब उदयपुरको चुनौती ५–० गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबसँगको भेट पक्का गरेको हो।

पुलिसको जितमा निसा सुनारले ह्रयाट्रिक गरिन्। त्यसैगरी रंजिता गुरुङ र अमृता जैसीले समान १-१ गोलको योगदान दिए। सुरुवातबाटै दबाब बनाएको पुलिसले खेलको चौथो मिनेटमा सुनारको गोलबाट खाता खोल्यो। निरु थापाको हेडर पासमा उदयपुरकी गोलरक्षक देविका श्रेष्ठलाई विट गराउँदै निशाले सुरुवाती अग्रता दिलाएकी हुन्।

पहिलो हाफ १–० मा सकिएको खेलको दोश्रो हाफमा पुलिसका लागि ४ गोल सम्भव भयो। ५३ औं मिनेटमा रंजिता गुरुङले पेनाल्टी एरियाबाट गोल गर्दै अग्रता दोव्वर बनाइन्। ६० औं मिनेटमा अमृता जैसीले गोल गर्दै टिमको स्कोर ३–० बनाइन्। खेलको ६४ औं मिनेटमा उदयपुरकी गोलरक्षक देविकाले गरेको गल्तीको फाइदा उठाउँदै निशाले व्यक्तिगत दोश्रो गोल गरिन्। इन्जुरी समयमा निशाले ह्रयाट्रिक पुरा गरेपछि ५–० जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो।

खेलको ह्रयाट्रिककर्ता निशा वुमन अफ दि म्याच चुनिदै नगद ३ हजार प्राप्त गरिन्। उनलाई धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले नगदसहित मायाको चिनो प्रदान गरे। प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आयोजक धनकुटाले रौतहट महिला फुटबल टिमको सामनाा गर्नेछ। किरात आठपहरिया समाज नेपाल धनकुटाको आयोजनामा धनकुटाको तल्लो टुँडिखेलमा जारी प्रतियोगितामा बिजेता र उपविजेताले क्रमश नगद २ लाख र १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रदेश १ कै सवैभन्दा बढी धनराशीको महिला गोल्डकपको रुपमा यो प्रतियोगिता रहेको छ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७