शनिबार, बैशाख ८, २०८१

बन्दका कारण देउखुरीको जनजीवन प्रभावित

दाङ्ग, थरुहट थारुवान रास्ट्रीय मोर्चाले आह्वान गरेको बन्दका कारण आज मंगलवार बिहानै देखि देउखुरीको जनजीवन प्रभावित भएको छ ।

मोर्चाले बिज्ञप्ति निकालेर फागुन २० र २१ गते बन्दको आह्वान गरेको थियो । लमहीबाट छुट्ने छोटा दुरिका सवारीसाधन चल्न सकेका छैनन . देउखुरीका मुख्य बजार लमही, भालुबांग, सिसहनिया, गढवा लगायतका बजार बन्द छन् ।

क्षेत्रका कलकारखाना, शिक्षण सँस्था सबै बन्द छन् । टिकापुर घटनामा संलग्न भएको आरोपमा सरकारले बन्दि बनाएका रेशम चौधरी लगायतका नेतालाई निशर्त रिहा गर्नु पर्ने र यदि उक्त घटनामा उनीहरु दोषी भए कारबाही गरिनु पर्ने, टीकापुरको झुट्टा मुद्दा खारेज हुनु पर्ने, लाल आयोगको प्रतिबेदन सार्बजनिक गरिनु पर्ने जस्ता मागहरुको सरकारले बेवास्ता गरेकोले बन्द गर्न बाध्य भएको थरुहट थारुवान रास्ट्रीय मोर्चा युवा शक्तिका केन्द्रिय सदस्य एकराज चौधरीले बताए ।

बिहानै देखि देउखुरीका मुख्य चोक चोकमा बन्द कर्ताहरुले सवारी साधानलाई नचलाउन आग्रह गर्दै हिडेका छन् । लामो दुरीका सवारी साधनलाई भने उनीहरुले आजलाई जानुस भोलि नचलाउनु होला भनेर छोडी दिएका छन् । हाम्रो बन्द शान्तिपूर्ण हुन्छ हामी यो बन्दमा अराजक कुनै पनि काम गर्दैनौ हाम्रो आन्दोलनलाई समर्थन गरेर सहयोग गर्न सबैलाई आग्रह गर्दछौ बन्द कार्यक्रमका संयोजक प्रकाश चौधरीले भने ।

यता बन्दमा उनीहरुले अराजक गतिबिधि नगरुन भने सुरक्षा स्थितिलाई कडाई गरिएको छ । प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट पनि प्रहरी झिकाएर देउखुरीमा परिचालन गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए । अहिले सम्म देउखुरी क्षेत्रमा शान्तिपूर्ण रहेको थपलियाले बताए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७