शनिबार, साउन १२, २०८१

टिपरको ठक्करबाट महिलाको मृत्यु, बांकेको पिपरीमा तनाव

बांके, नेपालगन्ज कोहलपुर सडकखण्डको पिपरीमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

नेपालगन्जदेखि कोहलपुरतर्फ जाँदै गरेको रा१ख २१८८ नम्बरको टिपरले ठक्कर दिँदा कोहलपुर ९ झण्डहवाका रामपति थारुको ज्यान गएको हो । कोहलपुर नगरपालिका ९ की ४५ वर्षीया रामपति थारुको घटनास्थलमै ज्यान गएको बाँके प्रहरीले जनाएको छ ।

तीब्र गतिमा गुडिरहेको टिपरले सडकमा मजदुरी गर्न हिँडिरहेकी थारुलाई बिहान साढे १० बजेतिर ठक्कर दिएको थियो । टिपरको ठक्करबाट थारुको ज्यान गएपछि पिपिरी क्षेत्रमा स्थानीयले सडक अवरोध गरेका छन् ।

स्थानीयहरुले अहिले चक्काजाम गर्दै यातायात अवरुद्ध गरेका हुन् । स्थानीयहरुले टिपर चालकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ति दिन माग समेत गरेका छन ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गर्दा थारुलाई टिपरले ठक्कर दिएको थियो ।

ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७