बिहिबार, चैत्र १५, २०८०

दाङ्गको खांग्रानाकामा सशस्त्र प्रहरी क्याम्प स्थापना

 

दाङ्ग, दाङ्गको राजपुर गाउँपालिका वडा नम्बर ६ को खांग्रा नाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ ।

पोष्टको आज बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बाहिनी बिन्दबासिनी मुख्यालयका बाहिनिपती नारायण दत्त पौडेल, दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । सशस्त्र प्रहरीले सिमानामा भएका सिमा स्तम्भ र पिल्लरहरुको रेखदेख, सुरक्षा तथा जानकारी लिने छन् ।

पोष्टको उद्घाटन गर्दै सशस्त्र प्रहरी बल नेपाल न ५ बाहिनी बिन्दबासिनी मुख्यालयका बाहिनिपती नारायण दत्त पौडेलले सिमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रण गर्ने, लागु औषध ओसारपसार जस्ता अपराधीक गतिविधिलाई नियन्त्रण गर्नेछ पौडेलले भने । भारत सङ्ग सिमाना जोडिएका एक सय चौधवटा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको लक्ष्य रहेको बाहिनीपति पौडेलले बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले यो आर्थिक बर्षमा दाङको सिमा नाकामा १२ वटा प्रस्तावित सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्न लागिएको जानकारी दिए, तर बजेट अभावका कारण तीन वटा मात्र स्थापना गर्न सफल भएको उनको भनाई छ । बाकी नौ वटा क्याम्पहरु अर्को बर्षमा स्थापना गर्नका लागि कार्ययोजना बनाईरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले नाका क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प स्थापना हुनु अत्यन्तै खुशीको कुरा भएको बताउदै अब नाकाका बासिन्दा भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीसंग हेपिनु नपर्ने बताए ।

अहिले सम्म नेपाली भूमिलाई बिनाबर्दीका सिपाही भएर सुरक्षा दिएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सुरक्षाकर्मीसंग सहकार्य गरेर शान्ति सुरक्षामा सहयोग पुर्याउन आग्रह गरेका छन् । सुनपथरी र खांग्रा नाकामा स्थापना भएका सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणका लागि ५÷५ लाख उपलब्ध गराउन गाउँपालिकाबाट निर्णय भैसकेको केसीले बताए ।

यस अघि राजापुर गाउँपालिकाको सुनपथरी र कोइलाबास नाकामा सशस्त्र प्रहरीको पोष्ट स्थापना भैसकेको छ । हाल सम्म तिनवटा बोर्डर आउट पोष्ट स्थापना भैसकेका छन् अब नौ वटा स्थापना हुने प्रक्रियामा रहेको दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताए । पटौली, गुरुङ, भैसाही, भौवा, सिरिया, भौरिसाल, मुसिनाका र डगमारा नाका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्नका लागि प्रस्तावित नाका हुन् ।

यी प्रस्तावित नाकाहरुमा सशस्त्र प्रहरीको बाह्र वटै क्याम्प कम्तिमा ६ देखि ७ किलोमिटरको दुरीमा रहने छन् । हाललाई खांग्रा नाकामा रहेका महिलाहरुको उज्यालो समुहको सामुदायिक भवनलाई तारवार गरेर क्याम्प बनाईएको छ । सशस्त्र प्रहरी निरीक्षक रुपचन्द्र थापाको कामांडमा २५ जनाको टोलि रहने छ ।

दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको अध्यक्षता तथा सशस्त्र प्रहरी बल नेपाल न ५ बाहिनी बिन्दबासिनी मुख्यालयका बाहिनिपती नारायण दत्त पौडेलको प्रमुख आतिथ्य र राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको बिशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । २९ नम्बर गण हेडक्वाटर ज्वालामाई भालुबांगका एसपी नारायण श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सशस्त्र प्रहरी निरीक्षक सत्य बहादुर बुढाथोकीले गरेका थिए ।

सशस्त्र प्रहरी पोष्ट स्थापना भएपछी नाकालीबासी खुशी

बर्षौ देखि भारतिय सुरक्षाकर्मी र भारतिय नागरिकको ज्याद्धती सहेका नाकाबासी खाङ्रा नाकामा सशस्त्र प्रहरीको पोष्ट स्थापना हुँदा खुशी भएका छन । नाकामा राज्यको उपस्थिती भएपछी उनिहरुलाई आधार भएको छ । भारतियहरुले खेतबारीमा लगाएको अन्नपातमा गाईभैसी चराई दिने, केही भन्यो भने भारतिय बजार बनकट्टा आए मार्ने धम्की दिने गरेको खांग्रा नाकाकी पैसट्ठी बर्षिया दिलमता ठकुरीले गुनासो गरिन ।

घर आगनमा प्रहरी पुग्दा गर्बले शिर उच्च भएको बताईन । हात हतियार सहित भारतीय प्रहरी नेपाली भूमिमा प्रवेश गर्नु कुनै नौलो कुरा हैन, नेपाली बस्तीमा आउने र धम्कि दिने उनीहरुको पुरानै रबैया हो, अब केहि समस्या भयो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी हुनुहुन्छ हामि ढुक्क छौ खांग्रा निवासी दिलमाया बुढाले भनिन ।

भारतसङ्ग सिमाना जोडिएको यो नाकामा ५०÷६० घरधुरी संख्याले बसोबास गरेका छन । दाङको घोराही देखि दक्षिणमा ७०÷७५ किलोमिटरको दुरिमा यो नाका अवस्थित छ । सडक बाटोको अवस्था नाजुक भएकोले त्यहाँ सम्म पुग्नका लागि निकै कठिन छ । अझै सम्म पनि नाका क्षेत्रमा बिजुली बत्ती र नेटवर्कको पहुँच हुन सकेको छैन । हिउँदमा टेक्टर र मोटरसाइकल मात्र आवतजावत गर्न सक्छन । भौगोलिक भुबनावट नै त्यहाँको मुख्य समस्या हो ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७