शनिबार, साउन १२, २०८१

गाउँपालिका अध्यक्ष रावलमाथि कुटपिट

जुम्ला, जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलमाथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी कुटपिट गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएका छन् । ‘कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिएँ । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गर्नुभयो । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताए । उनले भने, ‘मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन ।’

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७