शनिबार, साउन १२, २०८१

दिन्छु-दिन्छु भन्दै देउवाले छक्काए धनराजलाई

काठमाडौं : बुधबार बिहान अनलाइनमा एकाएक कास्की-२ मा खेमराज पौडेलको नाम पक्का भएको खबर छाएपछि धनराज गुरुङ अचम्मित भएँ । अचम्मित हुनुपर्ने कारण आफूले टिकट नपाएको आक्रोश वा छानिएका खेमराजप्रतिको विरोध थिएन।

सभापति शेरबहादुर देउवाले मंगलबार मात्रै बूढानीलकण्ठस्थित निवासमै बोलाएर टिकटको वचन दिएका थिए। एकरातमै देउवा आफ्नै वचनमा कसरी ‘यू टर्न’ भए ? धनराज बुधबार बिहान अलि भावुक पनि बने। अनि औपचारिक निर्णय नहुँदै उनी सिधै बूढानीलकण्ठ पुगेर पदाधिकारी बैठकमै भनिदिए, ‘यत्रो लफडा गरेर मलार्इ टिकट लिनु छैन। स्थानीयलाई दिए हुन्छ।’

उपनिर्वाचनका लागि कास्की–२ मा कांग्रेस नेता गुरुङको नाम लामो समयदेखि चर्चामा थियो । उनलाई जिल्ला पार्टीले सिफारिस त गरेको थिएन । तर, केन्द्रले उनलाई चुनाव जित्ने उम्मेदवारको रूपमा हेरेको थियो । धनराज पनि आफ्नो तर्फबाट तयारी गरिरहेका थिए ।

तर, उम्मेदवार छनोटको विषयले पार्टीभित्र विवादको रूप लिँदा उनी मन नहुँदा–नहुँदै पछि हट्नुपर्ने परिस्थिति आयो । उनले आफैं मात्रै इच्छा जनाएका होनन्, पार्टी सभापतिलेनै आश्वासन दिएका थिए । उपनिर्वाचनको टिकट बाँड्ने अनुमति पाएको पदाधिकारी बैठकमा नाम प्रस्ताव गर्ने नै आश्वासन दिएका थिए, सभापति देउवाले ।

मंगलबार सभापति देउवाले धनराजलाई निवासमा बोलाएर टिकट दिने भन्दै आस्वस्त पारेका थिए । उनको चुनाव जित्नै पर्ने सर्त भने थियो। ‘सभापतिले तपाईंलाई टिकट दिने तर, चुनाव जित्नै पर्छ भन्नु भएको थियो’, उनले भने, ‘मैले पनि कुनै हालतमा जितिन्छ भनेको थिएँ । उहाँले पदाधकिारी बैठकमा तिम्रो नाम सिफारिस गर्छु भन्नु भएको थियो ।’

तर, टिकट दिनुको सट्टा धनराजको नामले गर्दा विवाद आयो भन्ने बहाना बनाएको उनको दुखेसो छ । ‘मलाई टिकट दिन्छु भन्ने अनि बाहिर मैले गर्दा विवाद भयो भन्ने? पार्टीलाई अनिर्णयको बन्दी बनाउनुभन्दा म उठ्दिन भनेर बिहान जानकारी गराएँ’, उनले भने ।

सभापति देउवाले राखेको प्रस्तावको साक्षी थिए, प्रवक्ता विश्वप्रकाश शर्मा र पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल । उनीहरुले पनि धनराजले निर्वाचन जित्छु भन्दै सभापतिलाई आस्वस्त पार्दै गर्दा होमा हो मिलाउँदै ‘तपाईं (धनराज)ले नै टिकट पाउनुहुन्छ’ भनेका थिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७