बिहिबार, बैशाख ६, २०८१

क्वारेनटाईनका लागि वडाध्यक्षले दिए आफ्नै घर

 

प्रिया स्मृती गजमेर
दाङ्ग, विश्व यति बेला कोरोना भाइरसले आतंकित भैरहेको छ । यो रोग बाट हाल सम्म ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार बढी पुगेको छ भने संक्रमितको संख्या २० लाख बढी छन् । यो रोग बाट नेपाल पनि अछुतो रहन सकेन र नेपालमा पनि यो रोगका बिरामी दिनहुँ जसो बढ्दै छन् ।

नेपाल बाहिरबाट आएका मानिसलाई केहि दिन सम्म राख्नका लागि बनाईने क्वारेनटाईनका बारेमा विवाद भैरहेका बेला लमहीका एक वडाध्यक्षले आफ्नै घर उपलब्ध गराएका छन् । लमही नगरपालिका वडा नम्बर ६ स्थित संचार टोलमा रहेको तिन तल्ले घरमा क्वारेनटाईन राख्न सकिने भएको छ । यो घर लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश मान चौधरीको हो । बिजुली पानी सबैको सुबिधा रहेको छ ।

चौधरीले आफ्नो वडाका आधारभूत बिद्यालय दुमदुमा, सामुदायिक भवनलाई पनि क्वारेनटाईनका रुपमा प्रयोग गर्न सकिने बताए । वडाध्यक्ष चौधरीले संक्रमित मान्छेलाई लिएर क्वारेनटाईन राखिने भन्ने कुरा सत्य नभएको बताउदै सबैको स्वास्थ्य सुरक्षाको लागि बाहिर बाट आएका मानिसको लक्षण के कस्तो देखिन्छ भनेर बुझ्ने अनि आइसोलेसनमा पठाउनका लागि मात्र क्वारेनटाईन घरको प्रयोग हुने बताए । बिपदका बेला आबश्यक परे आफ्नै घर समेत क्वारेनटाईनका रुपमा प्रयोग गर्न लमही नगरपालिकालाई वडाध्यक्ष चौधरीले आग्रह गरेका छन् ।

लमही नगरपालिकाले वडा नम्बर ३ स्थित रहेको बाल जनता माध्यामिक बिद्यालयमा क्वारेनटाईन राख्ने निर्णय गरेको थियो । उक्त स्थानमा स्थानीयको ब्यापक बिरोध भएपछी नगरपालिकाले लमहीको रातोडाडामा रहेको नेत्रलाल स्मृती प्रतिष्ठानमा क्वारेनटाईन बनाईएको हो । अन्य स्थानमा पनि स्थानीयले बिरोध गरेपछि ति ठाउँलाई क्वारेनटाईन बनाउन नसकिएको लमही नगरपालिकाले जनाएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७