शनिबार, साउन १२, २०८१

कोरोना संक्रमितसंगै दाङ्ग आएका एक जना सहित पांच जनालाई लगियो कोरोना अस्पताल

प्रिया स्मृती गजमेर
दाङ्ग,  देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ कटेसनाला निवासी एक पुरुष र उनका परिवारका चार सदस्य गरि ५ जनालाई बेलझुण्डीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।
अन्य २ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
केहि दिन अघि वीरगन्जबाट कैलाली पुगेकी एक ६५ वर्षीया कोरोना संक्रमित महिला सँगै चैत १७ गते वीरगन्जबाट दाङको भालुवाङ सम्म यात्रा गरेको खुल्न आएपछि प्रहरीले खोजीकार्य थालेको थियो, प्रहरीले उनीहरुलाई खोजेर मंगलबार आइसोलेसनमा पुर्याएको छ ।
देउखुरीको राप्ती गाउँपालिकाका ति पाँच जना सहित बेलझुण्डीको कारोना विषेश अस्पतालको आइसोलेसनमा बस्नेको संख्या अहिले १४ पुगेको छ । ती पाँच जनाको स्वाब टेष्टका लागि केहि दिनमै पठाउने अस्पतालका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
यसै बिच पर्वत जिल्लाबाट दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा आएका २ पुरूषलाई वडा नम्बर ५ को सर्वोदय मावि सिसहनियाँमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
कामका शिलशिलामा पर्वत गएका उनीहरूलाई ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारीको आग्रह र पहलमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र घर जान दिईने भएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७