शुक्रबार, बैशाख ७, २०८१

अनमोलले ‘धुपौरे’ छाडे, निर्देशकलाई पत्तो छैन

नायक अनमोल केसीबारे सिनेवृत्तमा चर्चा हुन्छ, उनी सित्तिमिती फिल्म गर्दैनन् । फिल्ममा हात हाल्नुअघि उनी सम्बन्धित प्रोजेक्ट र निर्देशक मात्र होइन, स्त्रिmप्ट पनि केलाउँछन् ।

जब उनी कुनै प्रोजेक्टमा जोडिन्छन्, चुपचाप मेहनत गर्छन् । पर्याप्त समय दिन्छन् । यही कारण अनमोलले बर्षमा एकाधबाहेक चलचित्र खेल्न भ्याउँदैनन् । यसैले त अनमोलको मोल बढेको हो । अनमोललाई आफ्नो फिल्ममा अनुबन्धित गर्नका लागि निर्माता/निर्देशकबीच होडबाजी पनि चल्छ ।

चलचित्र ‘ए मेरो हजुर ३’ रिलिजपछि अनमोल होम प्रोडक्सनबाट निर्माण हुने चलचित्र ‘एन्टि हिरो’को तयारीमा थिए । तर, सोही समय अनमोलले नयाँ चलचित्र साइन गरे । सम्तेन भुटियाको निर्देशनमा बन्ने चलचित्र ‘धुपौरे’मा अनमोल किेन्द्रिय भूमिका गर्दै थिए ।

‘चलचित्रको विषयबस्तु मन परेकाले’ अनमोलले उक्त चलचित्र छनौट गरेको बताएका थिए । चलचित्रको लागि अनमोलले आˆनो तौल पनि बढाइरहेका थिए । होम प्रोडक्सनको चलचित्रलाई पछाडि सारेर अनमोल यस चलचित्रको तयारीमा जुटेका थिए ।

तर, अहिले चलचित्र बजारमा अनमोलले यस चलचित्र छोडेको समचार आइरहेको छ । चलचित्रकर्मीको जमघट पनि अनमोलले चलचित्रको छोडेको विषय गसिप बनिरहेको छ । यस विषयमा अनमोल आफैँले भने केही बोलेका छैनन् ।

विश्वासनिय स्रोतलाई आधार मान्ने हो भने अनमोलले यस चलचित्रमा काम नगर्ने पक्का पक्की छ । अनलाइनखबरलाई स्रोतले भन्यो, ‘चलचित्रको विषयबस्तु र स्क्रिप्टमा आएको परिवर्तन र सुटिङको लागि गरिएको हत्तारोले अनमोल पछि सरेका हुन् ।’

उता निर्देशक भुटिया भने चलचित्रबाट अनमोल बाहिरिएको पत्तै नभएको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘यस्तो भएको थियो भने त हामी आफैँ तपाईहरुलाई भनिहाल्थ्यौँ नि । यो सबै कुराहरु गलत हो । खै कहाँबाट यो सबै समचारहरु आइरहेको छ म आफैँ अन्योलमा छु ।’

अनमोलले काम नगर्ने भएपछि यस चलचित्र नबन्ने समचारहरु पनि आइरहेको छ । तर, भुटिया भने चलचित्र बन्ने पक्का भएको दावी गर्छन् । उनले भने, ‘न हाम्रो चलचित्रबाट अनमोल बाहिरिएका छन् । न चलचित्र नै नबन्ने भनेका छौँ । हामी यसै चलचित्रको काममा लागिरहेका छौँ । चलचित्र बन्नेमा शंकै छैन् ।’ निर्देशक भुटिया अनमोलसँग निरन्तर कुराहरु भइरहेको बताउँछन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७