शनिबार, साउन १२, २०८१

फेरी क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु

नेपालगञ्ज, बाँकेको नरैनापुरमा रहेको एक क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएपछि त्यहाँ उच्च सर्तकता अपनाइएको छ । नरैनापुरस्थित दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएपछि उच्च सतर्कता अपनाइएकाे  हो ।

उक्त क्वारेन्टाइनमा रहेका ६ जनामा केही दिन पहिले कोरोना पुष्टी भएको थियो । कोरोनाको आंशकामा मृत्यु भएको हुनसक्ने भन्दै अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ ।

उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको अवस्था छ । शुक्रबार नरैनापुरका ८ जनामा कोरोना पुष्टी भएपछि शनिबार मात्रै त्यहाँका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो ।

२ सय ६३ जना मध्ये मृत्यु भएका युवाको समेत स्वाब संकलन भएको प्रदेश सांसद कृष्णा केसी (नमूना)ले जानकारी दिइन् । केही घण्टामा उनको स्वाब रिपोर्ट आउने बताइएको छ ।

स्वाबको रिपोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको भन्ने खुल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७