शनिबार, साउन १२, २०८१

भूपू पाण्डेको ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’गीत सार्बजनिक (पुरा भिडियो सहित हेर्नुहोस)

दाङ । हाम्रा बाउ बाजेहरुको पालामा देखिने दृश्य जस्तै भर्खरै बिहे गरेर विदेशिनु पर्दाको पिडा, बिहेमा निधारमा लगाएको टिका मेटिन नपाउदै छुटेको पति पत्नीको साथ, एउटा फोटो हेरेर वर्षौ वर्ष बाटोकुरी घरमा दिन रात रुदै टोलाउदै बस्नु पर्ने श्रीमतीको त्यो तड्पाईलाई ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ बोलको यस गीतले हुबहु प्रस्तुत गरको देखिन्छ । यो गीत, गीत मात्र नभएर एउटा सत्य कथा पनि हो । आफ्ना जहान केटा केटिको याद मेटाउन फोटा हेर्दै बिदेशी भूमिमा पसिना बगाएर काम गर्ने हरेक नेपालीहरुको कथा बोकेको छ यस गीतले त्यसैले पनि हरेक प्रेमिल जोडीहरु, विदेशमा भएका नेपालीहरुका साथै पुराना पुस्ताहरु माझ यो गीतले राम्रै साथ पाउने देखिन्छ । हरेक पक्षहरु बाट उत्कृष्ट बन्न सफल ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ बोलको गीतको म्युजिक भिडियो हिजो साझ मात्र सार्वजनिक भएको थियो ।

‘मेघ मल्हार’ रागमा तयार पारिएको गीतमा नारायण नेपालको शब्द, भूपू पाण्डे र मेलिना मैनालीको आवाज रहेको छ ।

मंगलबार  भूपू पाण्डे अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भिडियोमा टिकटकबाट चर्चित उषा उप्रेती र भूपू  पाण्डेको अभिनय देख्न सकिन्छ । यसअघि रोमान्टिक तथा चन्चले अवतारमा देखिने उषाले पहिलो पटक ‘स्याड ट्रेजेडि’ भिडियो गरेकी हुन् ।

अछामको तुल्ता गाउँ र भारतको राजस्थानमा खिचिएको भिडियोमा, मध्ये तथा सुदुरपश्चिम नेपालका नागरिकको जनजीवन तथा भोगाईलाई चित्रण गरिएको छ । रोजगारीको अभावले गाउँ छोडि कयौँ नेपाली परदेशिन बाध्य छन् । भौगोलिक विकटताका कारण रोजगारीका लागि भारत गएका श्रीमानलाई सम्झँदै, जानुअघि खिचिएको फोटो हेरी श्रीमतीले पर्खिरहेको भिडियोमा देख्न सकिन्छ ।

योगेश दाहालको छयांकन, मनोज कार्कीको दृश्य सम्पादन रहेको भिडियोको रंग संयोजन श्याम कुँवरले गरेका हुन् ।
लुमिनस पोस्टओर्क्स, कि-लाइट मोशनपिक्चर र सागर बाबु भट्ट प्रोडक्शनको सहकार्यमा दृश्य निर्माण भएको भिडियोको निर्माता स्वयम् गायक पाण्डे हुन् ।

भिडियोको रचनात्मक तथा ग्राफिक्सको पाटो पवन सिंखडाले सम्हालेका हुन् भने भिडियोको निर्देशन सागर बाबु भट्टले गरेका हुन् । गीतमा संगीत संयोजन गायक पाण्डेले गरेका छन् भने संगीत मुद्रण नरेन्द्र वियोगीले गरेका हुन् । भिडियोमा, परदेशका कारण बिछोडिएका जोडिबिचको प्रगाढ माया र विछोडको पीडालाई निर्देशकले सुन्दर ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।

यो गीत मार्फत् मेलिना मैनालीले सांगीतिक क्षेत्रमा डेब्यु गरेकी छिन् । शास्त्रीय संगीतमा मास्टर गरेका गायक पाण्डेले आफ्नो गीतमा नव गायिका मेलिना मैनालीलाई अवसर दिएका हुन् । ‘यो भिडियो बनाउन हामीले एकदमै मेहेनत गरेका छौँ । सकेसम्म राम्रो बनाउने कोशिस गरेका छौं । आशा छ,  दर्शक श्रोताहरुले मन पराईदिनु हुन्छ,’ निर्देशकको भनाइ छ ।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७