शुक्रबार, चैत्र १६, २०८०

नेकपाका सांसदद्वारा गाँजा खेती गर्न पाउने प्रावधानसहितको गैरसरकारी विधेयक दर्ता

काठमाडौं, सोमबार प्रतिनिधि सभामा गाँजा खेतीलाई बैध बनाउने सम्बन्धी गैर सरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६) दर्ता भएको छ । विधेयक दर्ता गर्ने सांसदले गाँजा बिक्रीलाई खुल्ला गर्ने हो भने नेपालको अर्थतन्त्र २/३ बर्षमै ५०/६० खर्बको बनाउन सकिने तर्क प्रस्तुत गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले सोमबार संसदमा गैरसरकारी विधेयक दर्ता गराए । तामाङ सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसद हुन् । सिन्धुपाल्चोकका उच्च भेगमा गाँजा खेती हुने गरेको छ ।

केही समयअघि ४५ भन्दा बढी सांसदहरुले गाँजा खेती र बिक्री वितरण खुल्ला गर्नुपर्ने माग राख्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत पेश गरेका थिए । उक्त जरुरी सार्वजनिक महत्वका प्रस्तावक सत्तारुढ नेकपाकै सांसद विरोध खतिवडा थिए । खतिवडा मकवानपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् । मकवानपुर पनि गाँजा उत्पादन हुने प्रमुख जिल्लामा पर्छ ।

उच्च उहाडी र हिमाली भेगमा गाजा खेती हुने गरेको छ । अरु अन्नबाली राम्रो उत्पादन नहुने क्षेत्रमा पनि गाँजा राम्रो उत्पादन हुने गरेको पाइन्छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७